तिलौराकोट क्षेत्रको उत्खनन् कार्य शुरु

राधा पोख्रेल,
कपिलवस्तु, २९ पुस । गौतम बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरबार कपिलवस्तुको तिलौराकोट क्षेत्रको उत्खनन् कार्य शुरु गरिएको छ ।

बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्विनी विकास कोषका पुरातत्व विद्हरुको संयुक्त टोलीले उत्खनन् कार्य शुरु गरेका हुन् । जिओफिजिक्स सर्वेबाट दरवार क्षेत्रमा ३० मीटर लामो ३० मीटर चौडाईको पोखरी, पुर्वी द्धार नजिक १० मीटर चौडा सडक र वरपर ससाना घरहरु, पुर्वपट्टी ३०० मीटर र २०० मीटर लम्बाई चौडाको विहारको संरचना जमिन मुनि रहेको पत्ता लागेको छ ।

सोही जियोफिजिक्स सर्वेको प्रतिवेदन अनुसार गत साल जमिन मुनि देखिएको १०० मीटर लम्बाई र १०० मिटर चौडाई भग्नावशेष दरवार क्षेत्रको मुख्य संरचनाको उत्खनन्लाई यस वर्ष प्राथमिकता दिईने लुम्विनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।

यसअघ भएका उत्खनन्बाट ईशापुर्व १ देखि ५ वर्ष अघिका माटाका भांडाहरु, कोईला, हड्डी तथा ४ सय ९५ वटा चांदीका सिक्काहरु लगायतका पुरातत्विक वस्तुहरु फेला परिसकेको छ ।

भारतले सीमा नजिकैको सिद्धार्थनगर जिल्लाको गनवरिया क्षेत्रलाई प्राचीन कपिलवस्तु दरवार क्षेत्र भनी विकास तथा प्रचार प्रसार गरिरहेका बेला प्राचीन कपिलवस्तुको यो उत्खनन् र यस बाट पुष्टि हुने प्रमाणिकताले समग्र प्राचीन कपिलवस्तुको विकासमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२७ फेब्रुअरीसम्म चल्ने यस पटकको उत्खनन् कार्य तिलौराकोटका साथै कुदान क्षेत्रमा पनि उत्खनन् गरिने लुम्विनी विकास कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.