उद्योग वाणिज्य संघ चितवनको मतदान सकियो

राजेन्द्र आचार्य
चितवन/उद्योग वाणिज्य संघ चितवनको ४९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्वको लागि मंगलबार चुनाव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढमा मंगलबार बिहान साढे नौबजेबाट सुरु भएको मतदान प्रकृया दिउँसो साढे तीन बजे सकिएको हो ।
निर्वाचनमा संस्थापन पक्षबाट सहनलाल प्रधानको नेतृत्वमा प्यानल नै चुनावी मैदानमा होमिएको थियो । त्यसैगरी, राजन गौतम पनि प्यानल सहित चुनावी प्रकृयामा सहभागी भएका छन् । मतदानको समयमा दुवै पक्षका उम्मेदवारहरु लामवद्ध भएर भोट माग्नको लागि व्यवस्त देखिन्थे । कार्य समिति सदस्यबाट नै खारिएर नेतृत्व सम्हाल्न तयार भएका सहनलाल प्रधान र उद्योगी व्यवसायीबीच लोकप्रीय भनिएका राजन गौतमबीच कडा प्रतिष्पर्धा भएको विश्लेषकहरु बताउँछन् । कार्य समितिमा खारिएको व्यक्तिले नेतृत्व सम्हाल्नुपर्ने भन्दै संस्थापन पक्ष चुनावी प्रकृयामा लागेका थिए । त्यसैगरी, व्यवसायीको समस्या बुझेको कुशल व्यक्ति नेतृत्वमा आउनुपर्ने भन्दै गौतम पक्षधरले चुनावमा भोट माग्न व्यस्त देखिन्थे ।
गौतम र प्रधानबीच हुने प्रतिष्पर्धामा विजेताको मत अन्तर धेरै नहुने विश्लेषकहरु बताउँछन् । संस्थापन पक्षका प्यानललाई जिताउनको लागि नेकपा एमाले पक्षधर व्यवसायी, स्थानीय राजनीतिक तहका व्यक्तिहरु लागिपरेका छन् भने राजन गौतम पक्षधरलाई जिताउनका लागि नेपाली काँग्रेस र एमाओवादीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । आफ्नो प्यानलका उम्मेदवारलाई जीताउनका लागि राजनीतिकर्मीहरु खुलेयाम भोट माग्न व्यस्त देखिन्थे ।
त्यसैगरी, चितवनका स्थानीय सञ्चार माध्यमहरुले सहनलाल प्रधानलाई जिताउनको लागि खुलेयाम नै लागिपरेका देखिन्थे । निर्वाचनमा कुल एक हजार ८ सय २७ मतदाता रहेका छन् । मंगलबार भएको मतदानमा नौ सय भन्दा केही बढी मत ल्याउने व्यक्ति अध्यक्ष बन्ने पक्का छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रधान प्यानलका राजु श्रेष्ठ, गौतम प्यानलका ऋषिप्रसाद लामिछाने, उपाध्यक्षहरुमा प्रधान प्यानलबाट चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ र बद्री अधिकारी प्रतिस्पर्धामा छन् भने गौतम प्यानलबाट भोजराज कौडेल, पुष्पनिधी लोहनी र विष्णुप्रसाद कँडेल चुनावी मैदानमा होमिएका छन् ।
मंगलबार भएको मतदानको मत गणना बुधबार मात्र हुने भएकाले नतिजा बुधबार नै आउने छ । बुधबार बिहान ८ बजेबाट मतगणना कार्य सुरु गरिने निर्वाचन अधिकृत ओस्तीले जानकारी दिएका छन् । २९ जनाको कार्यसमितिका लागि चुनाव भएको हो । निवर्तमान अध्यक्षसहित पदाधिकारी छ जना, उद्योगतर्फ छ जना, वाणिज्यतर्फ छ जना, वस्तुगत चार जना, कर्पोरेट दुई जना, महिला सदस्य एक जना, क्षेत्रीय संगठित एक जना र मनोनित तीन गरी कुल २९ जनाको कार्यसमिति रहनेछ ।
उद्योग बाणिज्य संघमा चुनावी प्रतिस्पर्धा हुन लागेको यो सातौ पटक हो । यस अघि २०४४ र ४९ मा महेन्द्रलाल प्रधानको २ कार्यकाल, २०५४ मा रामप्रसाद श्रेष्ठ र २०६० मा मदनलाल जोशी निर्वाचनबाट अध्यक्ष भएका थिए । त्यस्तै, उद्योगतर्फ छ जनाको लागि ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ छ जना सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । वस्तुगततर्फ चार जनाको लागि सात जनाको उम्मेदवारी परेको छ ।
एकमात्र महिला सदस्यका लागि रजनी मास्के, कर्पोरेटतर्फ दुई जना पुष्पराज शर्मा र ऋषिराम पौडेल क्षेत्रीय संगठिततर्फ कल्याण गुभाजुको निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने चारै जना संस्थापन पक्षका उम्मेदवारहरु हुन् ।

Leave a Reply

Your email address will not be published.