समाजको यथार्थ घटनालाई कथा बनायौँ : निर्देशक बाँस्तोला

आनन्द पोखरेल
चितवन, २८ पुस । नेपाल सरकारले प्रदान गर्ने ‘विषेश चलचित्र’को उपाधी हत्याउन सफल नेपाली कथानक चलचित्र ‘सुनपानीको विशेष प्रदर्शन चितवनमा भएको छ । सोमबार बेलुका भएको विशेष प्रदर्शनमा दर्शकरुले चलचित्र राम्रो भएको प्रतिकृया दिएका छन् ।
कलाकारहरुको साथमा प्रदर्शन गरिएको विशेष प्रदर्शनका क्रममा दर्शकहरुले सुनपानीको दोस्रो भाग समेत निर्माण गर्नको लागि सुटिङ युनिटलाई आग्रह गरेका छन् । सत्य घटनामा आधारित तथा नेपाली झर्रा भाषालाई चलचित्रमा प्रयोग गरिएको सुनपानीको निर्माता चेतबहादुर सिंह ‘राजा’ रहेका छन् । चलचित्रको निर्देशन सविन बाँस्तोला ‘गिरधारी’ले गरेका छन् ।
चलचित्रको विशेष प्रदर्शनपछि मंगलबार बिहान चलचित्र पत्रकार संघ चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक सविन बाँस्तोलाले सुनपानी चलचित्रले नेपाली समाजको प्रष्ट चित्रण गर्न सफल भएको बताएका छन् । व्यावसायिक रुपमा चलचित्र सफल नभएको भएपनि सामाजिक यथार्थपरक कथावस्तुलाई चलचित्र मार्फत प्रदर्शन गर्नुमा आत्म सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । चलचित्रमा विद्यमान सामाजिक असमानता, जातीय छुवाछुत, रुढीवादी, वर्गीय असमानता आदि विषय रहेको बाँस्तोलाले बताएका छन् ।
‘हाम्रो समाजमा रहेका विभिन्न सामाजिक कुरीतिलाई चलचित्रमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु, बाँस्तोलाले भने, –‘चलचित्रमा एक्सन, आइटम डान्स, उत्तेजक पहिरन र औपचारिक संवादमा कुनै पनि सन्दर्भ राखेका छैनौँ ।’ दुई घन्टाको अवधिमा एउटा मात्र सामूहिक लोकगीत समावेश गरी निर्माण गरिएको चलचित्रको वास्तविक कथा यथार्थपरक रहेको निर्देशक बस्नेतको भनाइ छ ।
चलचित्रमा समावेश गरिएको लोक गीत सुदूरपश्चिमको देउडा र गण्डकी अञ्चलतिर गाइने लोकभाकाको समिश्रण भएको चलचित्रका निर्माता चेतबहादुर सिंह ‘राजा’ले बताए । चलचित्रलाई कसरी व्यक्त गर्ने भन्ने बारेमा लामो समय छलफल पछि कथावस्तु तयार पारेर निर्माण गरिएको कारण चलचित्र जीवन्त बन्न सफल भएको सिंहको भनाइ छ । समाजका लागि गर्नुपर्छ, नेपाल र नेपालीलाई चिनाउन चलचित्र निर्माण गर्नुपर्छ भन्ने भावनाका साथ सुनपानी निर्माण गरिएको सिंहले बताए । चलचित्रको कथावस्तुमा कतिपय सम्वाद दुई अर्थ बोकेर आउनाले अश्लील झैँ लागेपनि ती शब्दहरु हाम्रै समाजमा अवस्था अनुसार प्रयोग गरिने हुँदा दर्शकले छुट्टै मनोरञ्जन पाउने सिंहको विश्वास रहेको छ ।
मंगलबारको पत्रकार सम्मेलनमा सुनपानीकी नायिका आशा भुषालले चलचित्रमा कलाकारको जीवन्त अभिनय र कथावस्तुले चलचित्रको आत्मा भर्ने काम गरेको बताइन् । कथाले मागेअनुसार आफूले चलचित्रमा कालीको भूमिकालाई न्याय गर्न सकेको बताउँदै नयाँ कलाकारलाई रंगमञ्चमा स्थान बनाउन निकै संघर्ष गर्नुपर्ने भुषालले बताइन् ।

10313615_1003358653069423_2762677907530581592_n
‘सुनपानी’लाई नुवाकोट पिपलटारमा छायाँकन गरिएको हो । चलचित्र छायाँकार गणेश कुमार श्रेष्ठ हुन्, ‘सुनपानी’मा कथा स्वयं निर्देशक बाँस्तोलाको छ भने पटकथा लेखन लक्ष्मण लम्सालले गरेका छन् । गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा कलाकार विमल क्षेत्रीको संगीत रहेको छ । नृत्य निर्देशक कमल खालिङ र निशा शाहको रहेको छ । उक्त चलचित्र ‘सुनपानी’मा नविन तिमिल्सिना, आशा भुसाल, सबिन बाँस्तोला, अग्रज केसी, तारा केसी, चेतबहादुर सिंह, स्वस्तिका लामिछाने, बुद्धिसागर खनाल, दिलिप तामाङ, नीशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साल, सिताराम तिम्सिना आदि कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.