चराको संख्यामा वृद्धि हुने अनुमान

कोमलचन्द्र भगत
चितवन, २८ पुस । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको पानीमा पाइने चराको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहाले गरेको चरा गणना अनुसार निकुञ्जमा चराको संख्यामा वृद्धि हुने अनुमान गरिएको हो ।
आइतबारदेखि १५ जनाको तीन वटा समूह बनाएर गरिएको चरा गणना मंगलबारसम्म जारी रहको छ । आइतबार र सोमबार भएको चरा गणनामा खैरहनी नगरपालिकाको गैडहवा तालदेखि सौराहाको राप्ती घाटसम्म ९२ प्रजातिका चराहरु गणनामा देखिएका थिए । जसमध्ये चखेवा र जलकौवा प्रजातिका चराको संख्या गत वर्षको गणनामा भन्दा दोब्बर भएको वर्ड एजुकेशन सोसाइटीका वरीष्ट सल्लाहकार तथा चराविद् टिका गिरीले बताएका छन् ।
चरा गणनामा गैडहवा तालदेखि रापती घाटसम्म सात जना, ढुंम्रे खोला क्षेत्रमा तीन जना र पाँच जना गणकहरु बुढी रापती क्षेत्रमा परिचालन भएका छन् । निकु्ञ्जमा रहेका विभिन्न सिमसार तथा पानीका तालहरु सुक्दै गएका कारण चितवनमा धेरै प्रजातिका चराहरु संकटमा पर्ने वर्ड एजुकेशन सोसाइटी सौराहाले जानकारी दिएको छ । हेटौंडा बजार क्षेत्रबाट निस्कने फोहोर र चितवनको सौराहा क्षेत्रबाट निस्कने फोहोर रापती नदीमा सिधै मिसाइने भएकाले जल प्रदुषणका कारण जल क्षेत्रमा पाइने धेरै प्रजातिका चराहरु संकटमा परेका चरा विशेषज्ञ गिरीले बताएका छन् ।
नेपाल भरी आठ सय ७५ प्रजातिका चराहरु पाइने गरेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ३० प्रजातिका चराहरु भेटिएका छन् । राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रत्येक वर्ष चराको गणना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.