निकुञ्ज घुम्न आउने पर्यटक घटे

आशिष अधिकारी
चितवन, २८ पुस । अघिल्लो आर्थिक वर्ष २०७१/०७२ को पाँच महिनामा भन्दा चालु आर्थिक वर्ष २०७२/०७३ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा ह्वात्तै कमी आएको छ । वैशाखमा आएको विनाशकारी भूकम्पका कारण निकुञ्ज घुम्न आउने पर्यटकमा ह्वात्तै कमी आएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज विश्वमा नै दुर्लभ मानिने एकसिंगे गैंडा, पाटे बाघ, गौरीगाई लगायत विभिन्न आठ प्रजातिका संरक्षित स्तनधारीको लागि उपयुक्त बासस्थानको लागि परिचित रहेको छ । राष्ट्रिय निकुञ्जमा आन्तरिक र वाह्य दुवै पर्यटकहरुको आगमन न्यून भएको चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराको तथ्यांकमा उल्लेख गरिएको छ । राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी गर्दै वन्यजन्तु र चरा अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् ।
गत आर्थिक वर्ष २०७१/०७२ को साउन महिनामा चितवन राष्ट्रिय घुम्न आउने पर्यटकको संख्या १६ हजार सात सय २९ रहेको निकुञ्जले जनाएको छ । जसमध्ये एक हजार पाँच सय ८० जना नेपाली, नौ सय ८४ जना सार्कका र १४ हजार एक सय ६५ जना विदेशी पर्यटक रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिएका छन् । चालु आर्थिक वर्ष २०७२/०७३ को साउन महिनामा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दुई हजार छ सय ९० जना मात्र रहेको छ । चालु आर्थिक वर्षको साउनमा निकुञ्ज घुम्न आएका पर्यटक मध्ये आठ सय ४८ जना नेपाली पर्यटक, एक सय ७८ जना सार्क मुलुकका पर्यटक र एक हजार ६ सय ६४ जना विदेशी पर्यटक रहेका कंडेलले बताएका छन् ।
गत आर्थिक वर्षको मंसिर महिनासम्म पाँच महिनाको अवधीमा ९१ हजार एक सय ९८ जना पर्यटकले निकुञ्ज घुमेको निकुञ्जले जनाएको छ । जसमध्ये १५ हजार तीन सय २० जना नेपाली, छ हजार आठ सय ५४ जना सार्क मुलुकका र ६९ हजार २४ जना सार्क मुलुकका पर्यटक रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०७२/०७३ को मंसिर महिनासम्म पाँच महिनाको अवधीमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या १८ हजार एक सय ४८ जना मात्र रहेको छ । यो पाँच महिनाको अवधीमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमा पाँच हजार पाँच सय ४७ जना नेपाली, आठ सय २१ जना सार्क मुलुकका र ११ हजार सात सय ८० जना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।
गत वैशाखमा नेपालमा विनाशकारी भूकम्प आएपछि पर्यटकीय दृष्टिकोणले चितवन सहित देशभरीका पर्यटकीय क्षेत्रहरु असुरक्षित रहेको सन्देश विश्वमाझ गएको थियो । भूकम्प पछिको अवस्थामा केही मुलुकहरुले नेपाल नजानको लागि आफ्ना नागरिकहरुलाई आग्रह गर्दै भिषा समेत दिएका थिएनन् । निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएपछि निकुञ्जले असुल्दै आएको राजश्व संकलनमा समेत कमी आउने देखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा, बाघ, गौरी गाई, घडीयाल गोही सहित ६८ प्रजातिका स्तनधारी प्राणीहरु पाइन्छ । सन् २०१५ मा भएको गैंडा गणना अनुसार नेपाल भरी छ सय ४५ वटा गैंडा भेटिएकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय पाँच वटा गैंडा भेटिएको थियो । त्यसैगरी, निकुञ्जमा सन् २०१२ मा भएको बाघ गणना अनुसार चितवनमा मात्र एक सय २० वटा प्रजननयोग्य बयश्क बाघ रहेका छन् । निकुञ्जमा तीन सय १२ वटा गौरी गाई रहेको प्रारम्भिक तथ्यांक रहेको र गौरी गाई गणनाको तयारीमा निकुञ्ज लागेको कंडेलले जानकारी दिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरु एक लाख ७८ हजार दुई सय ५८ जना रहेकोमा चालु आर्थिक वर्षमा दुई लाख भन्दा बढी पर्यटक चितवन आउने अपेक्षा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.