उद्योग वाणिज्य संघ चितवनको अधिवेशन / कसले मार्ला त बाजी ?

राजेन्द्र आचार्य आन्नद पोख्ररेल
चितवन, २८ पुस । उद्योग वाणिज्य संघ चितवनको ४९औं वार्षिक साधारणसभा तथा अधिवेशनले नारायणगढको माहौल तातिएको छ । आज हुने मतदाना प्रक्रियासगै चुनावी प्रतिष्पर्धामा संस्थापन पक्ष र अर्को पक्षको रस्साकस्सी बढेको छ ।
मंगलबार हुने निर्वाचनको लागि संस्थापन भनिएका सहनलाल प्रधान पक्षधर र प्रतिपक्ष भनिएका राजन गौतम पक्षधर प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका छन् । उद्योग वाणिज्य संघ चितवनको इतिहासमा नै यस पालीको चुनावलाई कडा प्रतिष्पर्धाको रुपमा हेरिएको छ । प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका व्यवसायीहरु चुनावी नतिजा आफ्नो पोल्टामा पर्नको लागि दिलोज्यान दिएर लागीपरेका छन् ।
हालका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानलाई पूर्व अध्यक्षहरुको साथ र सहयोग रहेको छ भने राजन गौतमलाई व्यवसायीहरुको साथ र सहयोग रहेको जानकारहरु बताउँछन् । संस्थापन पक्षले अनुभवी र पुराना व्यक्तिलाई नेतृत्व दिनुपर्ने बताउँदै आएको छ । त्यस्तै, गौतम पक्षधरहरुले व्यवसायीको पीर मर्का बुझ्न सक्ने, व्यवसायीको हकहितमा काम गर्ने व्यक्तिले उद्योग वाणिज्य संघ चितवनको नेतृत्व सम्हाल्नुपर्ने बताउँदै आएका छन् ।
मंगलबार हुने चुनावी प्रतिष्पर्धामा ‘जातीय’ र ‘राजनीतिक’ मुद्दालाई उम्मेदवारहरुले आफ्नो चुनावी ‘एजेण्डा’ बनाए भनेर बाहिर हल्ला आएको भएपनि दुवै पक्षले यो कुरालाई स्वीकार गर्न इन्कार गरेका छन् । आफूहरु व्यावसायिक हक हितमा लाग्नको लागि चुनावी मैदानमा उत्रिएको बताउँदै सक्षम र योग्य उम्मेदवार चिन्नको लागि समेत उम्मेदवारहरुले मतदातालाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवनको हालसम्मको गरिमालाई जोगाउँदै स्वच्छ व्यवसाय मार्फत समाज तथा उपभोक्ताहरुको हित गर्न एक गाउँ, एक उत्पादनको अवधारणा अनुरुप बजारीकरण र सहरीकरणमा जोड दिन सहनलाल प्रधानको प्यानल चुनावी मैदानमा उत्रिएको छ । सहनलाल पक्षधरले उनी कार्यसमिति सदस्य हुँदै खारिएर अध्यक्ष पदको दाबेदार भएकोले प्रधान पक्षको जीत हुनु आवश्यक रहको बताउँदै आएको छ ।
त्यस्तै, घर बहालसम्बन्धी आचारसंहिता पालन गराई व्यवसायीलाई सुरक्षित रहदै व्यवसाय गर्ने वातावारण सिर्जना गर्न, वस्तुगत संघहरुसँगको सम्बन्ध सुमधुर बनाउन, आर्थिक पारदर्शिता र उत्तरदायित्व वहन गराउन राजन गौतमको प्यानल चुनावी मैदानमा उत्रिएको छ । गौतम पक्षधरले भने प्रखर वक्ता, युवा व्यवसायीबीच लोकप्रीय भएकाले उनलाई जीताउन आवश्यक रहेको बताउँदै आएका छन् । रोलक्रमको ‘सिण्डिकेट’ हटाएर उद्योग वाणिज्य संघमा व्यावसायिक रुपमा सक्षम व्यक्तिले नेतृत्व हाँक्नुपर्ने गौतम पक्षले बताउँदै आएको छ ।
उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको विश्राम गृह हटाउनुपर्ने, संघ आर्थिक रुपमा पारदर्शी हुनुपर्ने लगायतका मुद्दाहरु गौतम पक्षले उठाउँदै आएको छ । संघले व्यवसायीको हक हितमा मात्र काम गर्नुपर्ने, माडी ठोरी क्षेत्रलाई विकसित गरेर नयाँ व्यवसायिक गन्तव्य बनाएर समग्र चितवनको आर्थिक समृद्धिमा अगाडि बढाउनुपर्ने गौतम पक्षधरको भिजन रहेको छ । दुवै प्यानलले आफ्नो पक्षको जीत सुनिश्चित भएको बताउँदै आएका छन् ।
प्रधान प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र उपाध्यक्षहरुमा क्रमश चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ र बद्री अधिकारी रहेका छन् । त्यस्तै, गौतम प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि लामिछाने, उपाध्यक्षहरुमा भोजराज कौडाल, पुष्पनिधी लोहनी र विष्णु कँडेल रहेका छन् ।
उद्योग वाणिज्य संघको ४९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुनै पनि पक्षको प्यानल नै विजयी हुने सम्भावना न्यून रहेको छ । मंगलबार हुने मतदानको नतिजा मिश्रित आउने पक्कापक्की देखिएपछि दुवै पक्षबाट नेतृत्वमा जाने व्यक्ति एक ढिक्का भएर संघको हकहितमा लाग्ने बताउँदै आएका छन् । उद्योग वाणिज्य संघ चितवनको ४९ औं वार्षिक साधारणसभा तथा अधिवेशनले २०७२÷७४ को लागि नयाँ कार्यसमिति चयन गर्दैछ ।

Leave a Reply

Your email address will not be published.