बाघ देख्न भाग्य चाहिन्छ !

आनन्द पोखरेल

आनन्द पोखरेल
आनन्द पोखरेल
हाम्रो यात्रा यसरी सुरु भएको थियो ।

निकुञ्जको जीप सफारी यति रमाइलो हुन्छ भनेर मैले सोचेको पनि थिएन । जीप सफारी जानु भन्दा अघिल्लो दिन फोन आयो, ‘आनन्दजी निकुञ्ज घुम्न जानको लागि तपाईँलाई निम्ता दिन फोन गरेको हो ।’ त्यो फोनले म अवक् भएँ । पोहोर सालको घटना मनमा खेल्न थाल्यो । गत वर्ष पनि यसरी नै निकुञ्ज घुम्न जाने भनेर फोन आएपछि जाँदा कम्ता दुख पाइएको थिएन । पोहोर निकुञ्जले लगेको जंगल सफारीमा पदयात्रा पर्यो । हिड्न नसक्ने मान्छे त होइन म तर  हद भन्दा बढी हिड्न बाध्य भएँ ।


अघिल्लो वर्ष रातिको १० बजेसम्म निकुञ्जको जंगलभित्रको बास भएको थियो । जहाँ हात्ती, बाघ, गैैंडाको त्रास बढी नै थियो । निकुञ्जले  सौराहा–माडीको लागि नयाँ पदमार्ग खोलेको भनेर हामीलाई लगेको थियो । करिब १३  घण्टा भन्दा बढी हिँड्यौ हामी । साँझ परेपछि त्यो अनकन्टार चुरेमा हामी हरायौँ पनि । केही साथीहरु हिड्न नसकेर नेपाली सेनाका केही जवानले बोेकेको घटना पनि ताजा भयो ।

त्यो हिँडाई, थकान अनि मध्य रातमा त्यो चिसोपानीमा म रियू खोलामा पल्टीएको सबै घटनाहरु एकपछि अर्को गर्दै मेरो दिमागमा घुम्न थाले । चिसो बेलामा रियूको चिसो पानीले मलाई कायल नै बनायो । सरसर्ती अघिल्लो वर्षका घटनाक्रमहरु याद आए पनि म निकुञ्ज आउँछु भनेर पक्का गरिसकेको थिएँ । उज्यालो भयो । निकुञ्ज जानुपर्ने नै भयो । यसपालीको निकुञ्ज घुम्ने यात्रा कसराबाट थियो । म सहित हामी २० जनाको टोली कसरातर्फ लाग्यौँ ।

कसरा नपुगुन्जेलसम्म मनमा केही त्रास र थोरै कुतुहलता बाँकी नै थियो । फेरि पनि पोहोरको जस्तै जंगलको बाटो लखर लखर हिँडाइमा परिन्छ कि ? धन्न निकुञ्ज पुगेपछि मेरो त्रास कम भयो । निकुञ्जमा स्ट्याण्डबाइ राखिएको दुई वटा जीप देखेँ मैले । फेरि मनमा खुल्दुली भयो त्यो जीप हाम्रो लागि थियो वा अरु कसैका लागि । मैले कुरा खेलाउन सकिन र सोधिहालेँ प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेललाई, उहाँले भन्नुभयो यो तपाईँहरुको लागि हो, मेरो सानो बैठक छ म जान पाइन, तपाईहरु घुमेर आउनुस् अनि गफ गरौँला । यसपछि म ढुक्क भएँ यस पाली निकुञ्जमा हिड्नु परेन ।

हामी कसराबाट जीपमा यात्रा सुरु ग¥यौँ । निकुञ्ज भनेपछि बाघ र गैंडाको लागि प्रख्यात ठाउँ । मलाई गैंडा हेर्नुमा खासै चाख लाग्दैनथ्यो । सायद गाउँमा गैंडा लखेट्दै हुर्केको भएर पनि होला । तर बाघ भन्ने बित्तिकै म उत्साहित हुन्थेँ । मनमा बाघ हेर्ने धोको थियो । मनमनै सोच्न थालेको थिएँ बाघ देख्न पाइयो भने त खुब मज्जा आउँछ । बाघलाई प्रत्यक्ष रुपमा देख्दा कस्तो हुन्थ्यो होला ? कतै बाघले हामीलाई आक्रमणको प्रयास ग¥यो भने के गर्ने यस्तै यस्तै खुल्दुली मनमा थियो ।

विडम्बना भन्नुपर्छ हामी कसरा जाने दिनमा चितवनमा चरा गणना पनि थियो । हाम्रो अफिसमा भएका राम्रा क्यामेरा र लेन्स सबै सहकर्मीहरुले चरा गणनामा लिएर गएका थिए । म त भुक्का जस्तै भएँ । एउटा सानो लेन्स सहितको एसएलआर क्यामेरा मेरो भागमा परेको थियो । न जुम तान्न मिल्छ न त राम्रोसँग फोकसले नि काम गर्छ । कतै केही देखियो भने फोकस मिलाउँदा मिलाउँदै जनावर भाग्ला भन्ने मात्र हुन्थ्यो ।

हाम्रो यात्रा प्रारम्भ भएपछि हामीलाई निकुञ्ज भित्र सुरुमा श्यामल (मृग प्रजातिको कालो र अलि ठूलो प्राणी)ले स्वागत ग¥यो । मैले श्यामललाई क्यामेरामा कैद गर्न नसके पनि मेरो मस्तिष्कमा भने कैद गर्न सफल भएँ । श्यामल देख्दा खुसी लागेको भएपनि म बाघ देख्न चाहन्थेँ । लाग्थ्यो कति बेला बाघ देखिन्छ र नयाँ अनुभूति होला । चितवन राष्ट्रिय निकुञ्जको नजिकमा बस्छु । धेरै पटक निकुञ्ज घुम्न पनि गएको छु तर खोरमा राखिएको बाघ मात्र देख्न सफल भएको छु । जंगलमा खुला हिडेको बाघलाई देख्न पाएको थिएन ।

सुनेका थिएँ, बाघ लजालु हुन्छ । बाघले मान्छेलाई देख्छ तर मान्छेले बाघलाई देखेर फोटो खिच्न कठिन हुन्छ । जंगलमा बाघ देख्नु र फोटो खिच्नु त एउटा संयोग हो अझै भन्ने गर्छन् बाघ देख्नलाई भाग्य हुनुपर्छ । काठमाडौंबाट दुई दिन घुम्न आउने उज्ज्वल दाइले बाघ देख्ने म यहीँको मान्छेले किन नदेख्ने ? मनमा प्रश्न समेत उठ्ने गथ्र्यो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको टाइगर टप्स रिसोर्ट ।

कसराबाट करिब दुई घण्टा जीपको यात्रापछि हामी टाइगर टप्स रिसोर्टमा पुथ्यौँ । जुन रिसोर्ट २०६९ सालको असार महिनापछि बन्द अवस्थामा रहेको छ । त्यो रिसोर्टमा जानको लागि अहिले आन्तरिक तथा वाह्य पर्यटक कसैलाई पनि अनुमति छैन । हामीलाई निकुञ्ज प्रशासनले लगेको कारण त्यहाँ जान पायौँ । त्यहाँका करिब दुई सय जना श्रमिकमध्ये आधाभन्दा बढी बेरोजगार भएका रहेछन् । बाँकी श्रमिकलाई नवलपरासीको थारु भिलेजमा रोजगार प्रदान गरिएको रहेछ ।

पूरा पाठ पढ्नको लागि :अन्य ब्लगहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

रिसोर्टको सुरक्षाको लागि १० जना कामदार त्यहाँ बस्ने कुरा थाहा पाइयो । निकुञ्जका तीन र रिसोर्टका दुई हात्ती पनि त्यहाँ राखिएको रहेछ । चितवन राष्ट्रिय निकुञ्जको भन्दा पनि पुरानो इतिहास बोकेको जंगलको बीचमा स्थापना गरिएको टाइगर टप्स होटल अहिले हेर्नको लागि मात्र छ । तत्कालिन राजा महेन्द्र बेलायत जाँदा त्यहाँका होटल व्यवसायीलाई नेपाल ल्याएर होटल सञ्चालन गर्न अनुमति प्रदान गरेको इतिहास बताउँछ । उनै विदेशीको सुझाव अनुसार चितवनको त्यो घना जंगललाई राजा महेन्द्रले निकुञ्ज बनाएका थिए ।

त्यो रिसोर्टमा केहीबेर घुमफिर पछि हाम्रो यात्रा फेरि सुरु भयो । त्यत्रो निकुञ्जमा पुगेपछि बाघ देखिन्छ भन्नेमा म ढुक्क थिएँ । निकुञ्जका कर्मचारी पनि बाघ भेट्न सकिने संकेत  दिँदै थिए । बाघ भेट्ने उत्सुकताका साथ मौनतालाई जोड्दै हाम्रो यात्रा जारी थियो । कमल पोखरी ताल नजिक पुगेपछि हामी भन्दा अगाडि गुडेको जीप रोकियो । सबै इशासामा कुरा गर्न थाले । मलाई लाग्यो बाघ भेटियो । फुरुङ्ग भएँ । जब त्यो जीपको नजिकमा म पुगेँ मेरो उत्सुकता हरायो । बाघ नभएर पानीमा गैंडा आहाल खेल्दै रहेछ ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सिमसार क्षेत्रमा भेटिएको गैंडा ।

गैंडालाई खुला रुपमा देख्न पाउँदा साथीहरु खुसी थिए । म पनि बेखुसी त भइन । तर जति खुसी बाघ देख्दा हुन्थेँ त्यति खुसी भने हुन सकिन । राम्रैसँग साथीहरुले गैंडाको फोटो खिचे । मैले पनि फोटो त खिचेँ तर मन नलागी नलागी फोटो खिच्दै थिएँ । करिब दुई मिनेट जति गैंडाको मोडलिङ क्यामेरामा कैद गरेपछि साथीहरु हल्ला थर्न थाले । ध्वनी प्रदुषणको कारणले होला गैंडा जंगलभित्र पस्यौ । गैंडासँगै त्यहाँ चौरमा चरेको बँदेल पनि गयो झाडीमा । विदेशी पर्यटकहरु मचानमा बसेर चुरोट पिउँदै गैंडा हेर्दै थिए, हाम्रो कारणले कारणले गैंडा गएपछि रिसाए होलान् भन्ने ठानेर हामी उनीहरुलाई बाइ भन्दै अगाडि बढ्यौँ ।

खडाईघारीमा देखिएको मयूर ।

हाम्रो करिब चार घण्टाको यात्रामा हामीले श्यामल, वन कुखुरा, मयूर, गैंडा, रतुवा, बँदेललगयातका जनावरहरुलाई देख्न पायौँ । तर बाघ हेर्ने धोको मनमा थाँती राख्दै कसरा मुख्यालय पुगियो । मनमनै रिस पनि उठ्न थाल्यो । काठमाडौँबाट गएको टोलीले बाघ देखेँ भनेर भन्छन् हामी भने बाघको कुनै अत्तोपत्तो समेत नपाई फर्कियौँ । हाम्रो गुनासोलाई निकुञ्जले सुनुवाई ग¥यो भने चाँडै नै फेरि निकुञ्ज घुमाउन लैजाने कुरा छ । आशा गरौँ अर्को घुमाइमा बाघ हेर्ने धोको पुरा हुन्छ ।

Leave a Reply

Your email address will not be published.