नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड

चितवन, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालमा संविधान जारी भएपछि अब राजनीतिक क्रान्ति सकिएको बताउँदै देश विकासका लागि आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ४९ औँ वार्षिक साधारणसभाको सोमबार नारायणगढमा उद्घाटन गर्दै मुरारकाले राजनीतिक उपलब्धि प्राप्त भइसकेको अवस्थामा संविधानलाई कार्यान्वयन गर्दै आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

नेपालको तराई क्षेत्रमा लामो समयसम्म भएको नाकाबन्दीका कारण भूकम्पबाट प्रभावित उद्योग व्यवसाय थप मारमा परेको भन्दै उनले यथासक्य चाँडो घरायसी समस्या घरभित्रैबाट समाधान गर्न आग्रह गरेका छन् । विदेशीलाई देखाएर देशको समस्या समाधान नहुने भन्दै उनले स्वदेशमै निर्णायक वार्ता गर्न सरकारसँग माग गरे । नाकाबन्दीबाट प्रभावित उद्योग–व्यवसायीको ब्याज मिनाहाको विषयमा सरकारले सोच्नुपर्ने भन्दै उनले आफूहरु कर तिर्न भने तयार रहेको बताएका छन् । अबको समृद्धि भनेको तुलनात्मक लाभको साथमा प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग भएकोले जलस्रोतको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिने तर्फ मुरारकाले जोड दिएका छन् ।

सरकारले सहयोग गरेको अवस्थामा व्यवसायीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन सक्नेतर्फ इंगित गर्दै मुरारकाले राजनीतिक रुपमा कुरा नगरी निजी क्षेत्रसँगको सहकार्य र सहभागितामा मुलुकको आर्थिक विकास गर्नुपर्नेमा मुरारकाले जोड दिएका छन् । १० वर्ष मात्रै निजी क्षेत्रसँगको सहकार्य गरेमा पनि नेपाल समृद्ध बन्ने र नेपाल विकसित मुलुकमा पुग्ने मुरारकाले बताएका छन् । पछिल्लो समय नाकाबन्दीको मौका छोपेर नेपालमा वृद्धि भएको काला बजारी र महंगीको दोष व्यापारीलाईमात्र दिन नहुने मुरारकाले बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको ४९औैं साधारणसभाको उद्घाटनका क्रममा व्यवस्थापिका संसदका सदस्यहरु कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे र गीता वाग्लेले जिल्लाको विकासमा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लाको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सो अवसरमा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, एनेकपा माओवादी चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियार र चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलगायतले मन्तव्य राखेका थिए । संघले हालसम्म गरेका उपलब्धीपूर्ण कामका विषयमा अध्यक्ष कल्याण जोशीले जानकारी गराएका थिए । सो अवसरमा २० हजार रुपैयाँ रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट कायाकैरन दैनिकका प्रधान सम्पादक विनोदबाबु रिजाललाई सम्मान गरिएको थियो भने खेलाडी रेश्मा श्रेष्ठलाई खेलकुदको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । त्यसैगरी नेपाल कुखुरा बजार व्यवस्थापन समितिका अध्यक्ष शंकर कंडेललाई उत्कृष्ट व्यवसायिक पुरस्कारबाट सम्मानित गरिएको छ । सोमबार हुने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्दैछ ।

अध्यक्षमा सहनलाल प्रधान र राजन गौतमले मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उद्योग वाणिज्य संघमा एक हजार आठ सय २७ सदस्य रहेका छन् । शनिबार भएको मनोनयन दर्तामा निर्विरोध चयन हुनेमा प्रधान प्यानलका चार जना रहेका छन् । महिला तर्फकी रजनी मास्के, क्षेत्रीय तर्फ उद्योग वाणिज्य संघ मुग्लिङका अध्यक्ष कल्याण गुभाजु र कर्पोरेटतर्फका ऋषिराम पौडेल र पुष्प धिताल रहेका छन् । प्रधान प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र उपाध्यक्षहरुमा क्रमश चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ र बद्री अधिकारी रहेका छन् । त्यस्तै, गौतम प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि लामिछाने, उपाध्यक्षहरुमा भोजराज कौडाल, पुष्पनिधी लोहनी र विष्णु कँडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published.