११ महिने बालकको लिंग कुकुरले खाएपछि……

धादिङ, २६ पुस । आमाले घरमा सुताएर गएको बच्चाले गरेको दिसा खान आएको कुकुरले बच्चाको लिंग समेत खाइदिएपछि धादिङको एक चेपाङ परिवारमा रुवाबासी भएको छ ।
धादिङको महादेवस्थान–१ घैराङका ११ महिनाका बालक शिव चेपाङको लिंग कुकुरले खाएपछि उनको परिवारमा रुवाबासीसँगै कसरी उपचार गर्ने भन्ने समस्या परेको छ ।
ज्याला मजदुरी गरी खान नपुग्ने भएकाले शुक्रबार छोरोलाई घरमा सुताएर काममा गएकी आमा इन्द्रमायाले धेरै रोएको सुनेर घरमा आउँदा छोराको लिंग कुकुरले खाएको देख्नुभएको थियो ।
बालकले गरेको दिसा खाने क्रममा कुकुरले उनको लिंग पनि खाएको हो । भुकम्पले घर भत्किएको र घरमा खाने अन्न नभएकोले छोरालाई घरमा छोडेर इन्द्रमाया काममा जानु भएको थियो । इन्द्रमायाका श्रीमान वैदेशिक रोजगारीमा गएको भएपनि कमाइ राम्रो नभएकाले पैसा पठाउन पनि सक्नु भएको छैन ।
ज्याला मजदुरी गरेर छाक टार्दै आएकाले छोराको उपचार गर्न समस्या भएको इन्द्रमायाको भनाई छ । दुई सन्तानलाई घरमै छाडेर उपचार गराउन महादेवस्थान स्वास्थ्य चौकी आउनु भएकी इन्द्रमाया छोराको उपचार गराउन काठमाडौं लानु पर्ने भएपछि थप समस्यामा पर्नु भएको छ ।
गाउँलेले केही पैसा उठाएर बालकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएका छन् । तर थप उपचारका लागि काठमाडौं लैजाने पैसा भने इन्द्रमायासँग छैन ।

Leave a Reply

Your email address will not be published.