पर्यटकीय सम्भावना बोकेको कमिनचुली माई ओझेलमा

राजेन्द्र कार्की
चितवन, २६ पुस । पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण मानिएको जिल्लाको पहाडी गाविस कोराकमा पर्ने कमिनचुली माई प्रसार प्रचारको अभावमा यतिवेला पर्यटकको पखाईमा रेहेको छ ।
पदयात्राका लागि प्रशस्त संभावना बोकेको कमिनचुली माई पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण मानिएपनि प्रसार प्रचारको अभावमा यतिवेला पर्यटकको पखाईमा रेहेको हो ।

एक हजार ९६५ मिटरको उचाइमा रेहेको कमिनचुली चितवनकै अग्लो भूभागमा कमिनचुली अवस्थित रहेको छ ।
यहाँ पाइने रातो गुँरास, जंगली फल ऐसेलु, जंगली पशुपक्षी, घोरल, कालिज, नोकचुङ गुफा, चित्राम झरनालगायतले गर्दा पर्यटनको सम्भावना प्रशस्त रहेको दिगो पर्यटन विकास समिति कोराकका अध्यक्ष अमर तामाङ बताउँछन् ।
प्रशस्त संभावना भएको भएता पनि प्रचार–प्रसारको कमीले यो क्षेत्र पछाडि परेको उनले भनाई छ । कमिनचुलीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके यस क्षेत्रका स्थानीय बासिन्दाहरुको पनि आयस्रोतमा वृद्धि भई उनीहरुको जीवनस्तर उकास्न मद्दत पुग्ने नेपाली कांग्रेस कोराकका सभापति भीमबहादुर तामाङले बताए ।
परापूर्वकालमा कमिनचुलीको डाँडामा सिमाना निर्माण गर्ने क्रममा खन्दै जाँदा रातो कमिलाको ताँती भेटिएकोले यस ठाउँको नाम कमिनचुली रहन गएको उनको भनाइ छ । यस क्षेत्रमा पदयात्राको लागि बाङ्ग्रयाङ भञ्ज्याङ, कुइभीर हुँदै कमिनचुलीसम्म पुग्न सकिने उनले जानकारी दिए ।
विभिन्न ऐतिहासिक पृष्ठभूमि बोकेको यो क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सार्थक रहेको तमाङको भनाइ छ । आगामी वर्षलाई कमिनचुली भ्रमण वर्ष–२०१६ को अवधारणासहित पर्यटनको विकासमा कदम चालिने नेकपा एमाले कोराकका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।
कोराकको आर्थिक समृद्धिको लागि चर्को राजनीतिक भाषणमात्र होइन, यस क्षेत्रको आत्मनिर्भरताको लागि गरिने प्रयासहरु नै महत्वपूर्ण रहेको उनले बताए । मानिसहरु पदयात्राको लागि घले गाउँ, घान्द्रुक, बार्पाक, अन्नपूर्णलगायतका स्थानसम्म पुग्ने तर चितवनकै अत्यन्त रमणीय स्थल कमिनचुलीलाई बेवास्ता गर्दा ‘नजिकको तीर्थ हेला’ जस्तो भएको एमाओवादी कोराकका प्रतिनिधि शेरबहादुर तामाङले बताए ।
यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरेमा पर्यटनबाट मात्रै पनि करौडौँको आम्दानी गरी आर्थिक समृृद्धि गर्न सकिने उनको भनाइ छ । सडक मार्ग, खानेपानी, आवासलगायतको पूर्वाधारको विकास गर्नसके यस क्षेत्रको पर्यटन प्रबद्र्धनले फड्को मार्ने उनले भनाई छ ।
चेपाङ संघका निवर्तमान अध्यक्ष पहलमान चेपाङले भने कमिनचुली माईंको मन्दिर बनाएमा मात्र पनि भक्तजनहरु आउने बताए । कमिनचुलीको शिखरमा पुगेर रमणीय सुर्योदय र सूर्यास्तको दृश्य देखिन्छ । यो क्षेत्र पदयात्राको लागि रमणीय भए पनि सडक मार्ग, खानेपानी तथा आवासको अभावले समस्या ल्याउने भएकोले सम्बन्धित निकायको यसतर्फ ध्यान केन्द्रित गरी चितवनको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके चितवनको पर्यटनमा थपक टेवा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published.