थारु संस्कति जोगाउन खिचरा महोत्सवको तयारी तीव्र

आशिष अधिकारी
चितवन, २५ पुस । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ चितवनले आयोजना गरेको तेस्रो खिचरा महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
पुस २९ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने खिचरा महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा तयारीको काम तीव्र पारिएको आयोजकले जनाएको छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने खिचरा पर्वको विशेष सांस्कृतिक महत्व रहेको खिचरा महोत्सव मूल आयोजक समिति चितवनका संयोजक नारायणप्रसाद महतोले बताएका छन् ।
मकर संक्रान्तिको दिनमा मनाइने खिचरा पर्वमा थारु समुदायले अनदीको चामलबाट बनाएको परिकार खाने र त्यही परिकारलाई खिचरा भन्ने गरेको महतोले जानकारी दिएका छन् । थारु संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि महोत्सव आयोजना गरिएको महतोले जानकारी दिएका छन् । उक्त खिचरा महोत्सवमा ६० वटा स्टलहरु राखिने र ११ वटा स्टलमा थारु संस्कृतिसँग सम्बन्धित खानाका परिकारहरु राखिने महतोले जानकारी दिएका छन् । महोत्सवमा थारु नाच, लठ्ठी नाच, थारु संकृति झल्काउने जाल, ढडिया, खराउ, ढकाना, पटही, डुहुरीलगायतका सामग्रीहरु प्रदर्शन गरिने महतोको भनाइ छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा संस्कृति नेपालको पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवलाई सबै सम्प्रदायको महोत्सवको रुपमा विकास गरिने महतोले जानकारी दिए ।
कार्यक्रममा महोत्सवको आर्थिक संयोजक टिकेन्द्र चौधरीले महोत्सवलाई ५० हजार दर्शकहरुले अवलोकन गर्ने आफूहरुले अपेक्षा गरेको बताएका छन् । त्यसैगरी, महोत्सव स्थलमा माग २ गते खुला रक्तदानको आयोजना गर्ने र महोत्सव परिसरमा प्रवेश गर्नको लागि २० रुपैयाँ दरको टिकटको व्यवस्था गरिएको र विद्यार्थीको लागि १० रुपैयाँको टिकटमा प्रवे्श दिइने चौधरीले जानकारी दिए ।
महोत्सवको सांस्कृतिक संयोजक जयस चौधरीले महोत्सवमा दाङका थारु समुदायका व्यक्तिहरुको नाच समेत प्रस्तुत गरिने र उनीहरुको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने चौधरीले जानकारी दिएका छन् । थारु समुदाय भएको भएपनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा बस्ने थारुहरुको रहनसहन फरक हुने भएकाले पश्चिमको थारु समुदायको संस्कृतिलाई चितवनमा प्रस्तुत गर्न लागिएको चौधरीले जानकारी दिएका छन् । महोत्सवलाई गत वर्षको भन्दा फरक पार्नको लागि बाल उद्यान समेत थप गरिएको आयोजकले जनाएको छ ।
सबै जनाको माग र भावना अनुसार पनि महोत्सवलाई परिमार्जित गर्दै लगिएको प्रचार प्रसार संयोजक सञ्जय चौधरीले जानकारी दिएका छन् । कृषिको प्रचुर सम्भावना भएको चितवनमा कृषिको स्टललाई समेत स्थान दिने तरिकाले स्टल निर्माणको काम भइरहेको चौधरीले बताएका छन् ।
महोत्सव सफल पार्नको लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत आयोजकले जनाएको छ । महोत्सव सुरु हुने दिन पुस २९ गते बिहान पर्साको मगनीचोकबाट महोत्सव स्थल खैरहनी उच्च माविको प्राङ्गणसम्म थारुको सांस्कृतिक झाँकी सहित ¥याली निकालिने आयोजकले जनाएको छ ।
महोत्सवमा मिलन लामा, शिव परियार, रामचन्द्र काफ्ले, सन्दिप चौधरी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक जयस चौधरीले जानकारी दिएका छन् ।
महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेका न्यू प्रभु म्याग्दी सुनचाँदी पसलका सञ्चालक रामचन्द्र विश्वकर्माले महोत्सवलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल विभिन्न जाति र सम्प्रदायको साझा फूलबारी भएको बताउँदै सबै संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको विश्वकर्माको भनाइ थियो ।
पत्रकार सम्मेलन थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर ७ चितवनका अध्यक्ष एवम् खिचरा महोत्सव मूल आयोजक समिति २०७२ चितवनका संयोजक नारायण प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.