विभिन्न अपराधमा संलग्न सात जना पक्राउ

आन्नद पोख्रेरल
चितवन, २४ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अपराधमा संलग्न सात जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेका तीन जना र लागु औषध मुद्दामा पक्राउ गरेका चार जनालाई मुद्दा चलाएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन अधिकारीले ज्यान मार्ने उद्योगमा संलग्न तीन जनालाई प्रहरीले भरतपुरको केन्द्रीय बसपार्कबाट पक्राउ गरी मुलुकी ऐन ज्यान सम्बन्धी महल अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताएका छन् ।
प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा नवलपरासी दुम्बीबासका २० वर्षिय मिलन पुनमगर, २१ वर्षिय निमे पुन मगर र चितवनको भरतपुरका १७ वर्षिय सन्दिप रानामगरलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको अधिकारीले जानकरी दिएका छन् । पक्राउ परेका आरोपितहरुलाई केन्द्रीय बसपार्कमा पार्किङ गरी राखेको बसका चालक र सह चालकलाई रड प्रहार गरी घाइते बनाएको अरोप लागेको छ ।
त्यसैगरी, प्रहरीले लागु औषधमा संलग्न रहेको अभियोगमा चितवनको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ । लागु औषध क्लोनाजेपाम सात सय १० ट्याबलेट सहित चितवनको नारायणी नगरपालिका घर भएका २३ वर्षिय सुशील सेन र २४ वर्षिय मिलन नेपालीलाई प्रहरीले पक्राउ गरेको अधिकारीले जानकारी दिएका छन् ।
लागु औषध कारोबारमा नै संलग्न रहेको अभियोगमा प्रहरीले नारायणगढ बजारबाट सर्लाहीको श्रीनगर गाविस घर भएको १८ वर्षिय अस्लम अन्सारी र चितवनको भरतपुर घर भएका २२ वर्षिय सञ्जय थापालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्सारी र थापाको साथबाट प्रहरीले ५० एम्पुल डाइजापाम, ५० एम्पुल ब्रुफिनर्फिन र ५० एम्पुल फेनारगन बरामद गरेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी, प्रहरीले पुस १३ गतेदेखि सञ्चालन गरेको सडक सुरक्षा चेकप्वाइन्ट अवधारणाले राम्रो सफलता प्राप्त गरेको अधिकारीले बताएका छन् ।
प्रहरीले आरएससीसी नाम दिएको यस अभियानका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा छुट्टै १५ जना प्रहरी परिचालन गर्दै आएको छ । प्रहरीको अकास्मात हुने चेक जाँचमा खास गरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई कारबाही गरिएको अधिकारीले बताएका छन् । एम्बुलेन्स जस्ता सार्वजनिक सवारी साधन चलाउने चालकले समेत मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले उनीहरुलाई जिल्ला अदालतमा सार्वजनिक मुद्दा चलाइएको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.