चितवनमा घाँसेमैदान व्यवस्थापन कार्यक्रम लागू

चितवन, २४ पुस । चितवन निकुञ्जको पुर्वी क्षेत्रअन्तर्गत पुरानो पदमपुरमा यसबर्ष घाँसेमैदान व्यवस्थापन कार्यक्रम लागू भएको छ ।

मिचाहा प्रजातिका झार तथा विभिन्न कारणले निकुञ्जमा घाँसेमैदान घट्दै गएको भन्दै निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा घाँसेमैदान व्यवस्थापन गर्न लागिएको हो । उक्त ठाउँको १३ हेक्टर क्षेत्रलाई छनोट गरी घाँसेमैदान बनाउन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन प्रमुख डा चिरञ्जिवी पोखरेलले जानकारी दिनुभयो । हरियो वन कार्यक्रमको सहयोगमा घाँसेमैदान व्यवस्थापन गर्न लागिएको हो ।

स्थापनाकालमा निकुञ्जको कुल क्षेत्रफलमध्ये २० प्रतिशत घाँसेमैदान रहेकोमा अहिले घटेर ५ प्रतिशतमा झरेको छ । रुख विरुवा बढ्नु, अन्य झारपात तथा मिचाहा प्रजातीको वनमारा तथा माईकेनियाका कारण घाँसेमैदान घट्दै गएको निकुञ्जका सुचना अधिकारी टिकाराम पौडेलले जानकारी दिनुभयो । घाँसेमैदान घट्दा निकुञ्जमा रहेका बाघ, गैँडा, भालु, चित्तललगायतका वन्यजन्तुले वासस्थान फेर्ने भएकाले संरक्षण अति आवश्यक भएको उहाँको भनाइ छ ।

निकुञ्जमा आउने पर्यटकका लागि यी वन्यजन्तु गहनाको रुपमा रहेका छन् । निकुञ्जले वर्षेनी घाँसेमैदान व्यवस्थापन गर्ने गरे पनि मिचाहा प्रजातिका झारका कारण असर परिरहेको छ । निकुञ्जले घडगाई र सुखिभार क्षेत्रमा २५(२५ हेक्ट, भिम्ले क्षेत्रमा ३२ र लामिताल क्षेत्रमा साढे दुई हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गरेको थियो । वन्यजन्तु वस्तीमा पस्नुको मुख्य कारण पनि उचित घाँसेमैदानको संरक्षण नहुनु नै रहेको मध्यवर्ती क्षेका वासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.