चितवनका किसान नकाबन्दीको मारमा

चितवन २४ पुस । तराईमा जारी आन्दोलनका कारण चितवनका किसान मारमा परेका छन । लामो समयसम्मको नाकाबन्दीले गाई पाल्ने किसानदेखि तरकारी उत्पादन गर्ने किसानहरु समस्यामा परेका हुन । नाकाबन्दीले आफुहरु थला पारेको उनीहरुले बताए । नाकाबन्दी र मधेस आन्दोलनका कारण तरकारीमा प्रयोग हुने सिँचाइ, मल, बीउ, औषधिको मूल्य आकासिएका कारण तरकारी उत्पादनमा समस्या भएको हो ।

नाकाबन्दीको असरका कारण चितवनमा तरकारी उत्पादनमा ५० प्रतिशत कमी आएको किसानहरुले बताएका छन । दैनिक २५ टन तरकारी उत्पादन हुने गरेको चितवनमा नाकाबन्दीको असरले अहिले १५ टनमा मात्रै उत्पादन हुने गरेको छ । किसानहरुले डिजल अभावले खेत जोत्न ट्याक्टर पाएका छैनन् । मल महँगो शुल्क तिरेर खरिद गर्न बाध्य छन् ।

बजारमा बीउको आभाव भएका कारण मौसमअनुसारको तरकारी लगाउन नपाएको पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं ५ भण्डाराका किसान रत्नबहादुर सेढार्इंले बताए । तीन बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनले अहिले लागत मूल्य उठाउन पनि मुस्किल रहेको बताए । ‘मल बीउ अभाव छ, कतै पाइयो भने पनि महँगो शुल्क तिर्नु पर्छ’ उनले भने, ‘पहिला घण्टाको १२ सयमा खेत जोतिन्थ्यो । अहिले २५ सय पुगेको छ कसरी खेती गर्न सकिन्छ रु’ नाकाबन्दीले तरकारीको बजार मूल्य भने कम भएको छैन ।

तर महँगो शुल्क तिरेर डिजल खरिद गर्नु परेकाले तरकारी बजारसम्म पुयाउन प्रयोग गरिएको सवारी साधनलाई पनि महँगो शुल्क तिर्नु पर्दा त्यसको मार तरकारी किसानलाई परेको छ । व्यापारीले तरकारी ढुवानी शुल्क किसानहरुकै थाप्लोमा पर्ने गरी मूल्य तोकेर किसानबाट तरकारी लैजाने गरेको छ । ढुवानी शुल्क बढी तिर्न परेका कारण किसानहरुले दैनिक २० हजारसम्म घाटा व्यहोर्नु परेको छ । ‘हामी घाटामाथि घाटामा छौँ’ सेढाईले भने, ‘ढुवानी शुल्क जोडर व्यापारीले हामीबाट तरकारी उठाउँछ ।’

सिँचाइको लागि जेनेरेटरमा हाल्ने डिजल, मलको मूल्य दोब्बर र ढुवानी शुल्क पनि किसानकै थाप्लोमा परेका कारण लागत मूल्य पनि नउठ्ने समस्या रहेको सेढाईंले बताए । ‘तरकारीको मूल्य बढेन, हामी मर्कामा परेका छौँ’ उनले भने । पूर्वीचितवनको राप्ती नगरपालिकाको भण्डारा, वीरेन्द्रनगर, खैरहनीको कठार, पिप्ले, कोराक र पश्चिम चितवनको मंगलपुरका किसानहरुले व्यावसायिक रुपमै तरकारी खेती गरिरहेका छन् ।

पूर्वी चितवनको भण्डारा र वीरेन्द्रनगर तरकारी उत्पादनको हिसाबले पकेट क्षेत्रको रुपमा चित्रण गरिँदै आएको छ । नाकाबन्दीले यी दुई ठाउँका किसानहरु सबैभन्दा धेरै मारमा परेका छन् । भण्डारा र वीरेन्द्रनगरका किसानहरुले परम्परागत खेती गर्न छाडेर तरकारी खेती गरिरहेका छन् । उहाँ किसानहरुले खेत भाडामा लिएर व्यावसायिक रुपमै तरकारी खेती गरिरहेका छन् ।

यहाँका ८० प्रतिशत किसानहरु तरकारीमा निर्भर रहेका छन् । नाकाबन्दीले तरकारी किसानलाई विस्तापित गराउने अवस्था आएको जनजागृति तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था भण्डाराका अध्यक्ष धर्मराज कँडेलले बताए । ‘बजारमा तरकारीको माग छ’ उनले भने, ‘तरकारीमा प्रयोग गरिने सामग्रीहरु महँगो शुल्क तिर्नु परेका कारण उत्पादन गर्न सकेका छैनौ । ’ उनले नाकाबन्दीको असरका कारण किसानहरु निरास भएको बताए ।

यस्तै अवस्था केही समय लम्बियो भने चितवनका तरकारी किसानहरुले खेती गर्न छाड्ने उनको भनाइ छ । ‘तरकारी लगाएर घाटा हुने अवस्था भयो भने किन खेती गर्ने रु’ उनले भने, ‘छाड्नुको विकल्प छैन ।’ चितवनमा उत्पादन भएको तरकारी काठमाडौंको कालीमाटी बजार, बुटवल, हेटौडा र पोखराको मुख्य बजारमा जाने गरेको छ । अहिले किसानको खेतमा भेडे खुर्सानी, केराउ, फर्सी, घिउसिमी, काउली बडकाउली, टमाटर र करेला रहेका छन् ।

Leave a Reply

Your email address will not be published.