कर छलि गर्दै उद्योग बाणिज्य संघ चितवन

चितवन, २४ पुस । उद्योगि ब्यवसायीको साझा संस्था उद्योग बाणिज्य संघ चितवनले राजश्व छलि गरेको पुष्टि भएको छ । नाफा रहित संस्थाको रुपमा दर्ता भएको उद्योग बाणिज्य संघले लाखौंको कारोवार गरेर पनि आन्तरिक राजश्व कार्यालयमा दर्ता नगरी आम्दानी लाई लुकाएको बुझिएको छ ।
सेवा प्रदायक संस्थाले दश लाख रुपैंया भन्दा बढी कारोबार गर्नुपर्दा भ्याटमा दर्ता अनिवार्य छ । तर हिसाव पारदर्शी गर्नुपर्ने भएकाले त्यसलाई लुकाउँदै राजश्वमा दर्ता नगरी आर्थिक अनियमितता गरेको आशंका गरिएको छ । उद्योग बाणिज्य संघ चितवनले सञ्चालन गरेको नारायणी अतिथि गृह बाट आर्थिक बर्ष २०७०/७१ मा कोठा सेवा शुल्क,सम्मेलन कक्ष,भान्साघर र ग्राउण्ड शुल्क, तालिम कक्ष,कुर्चि तथा टेवल भाडा र बिद्युत तथा सरसफाई शुल्क बापत ४५ लाख ७३ हजार छ सय बाईस रुपैयाँ नब्बे पैसा आम्दानी गरेको देखिन्छ ।
गत आर्थिक बर्षमा भने अतिथि गृह अन्तर्गत कोठा सेवा शुल्क,भान्साघर र ग्राउण्ड,कुर्चि तथा टेवल र शहिदचोक भवनको बहाल गरेर ४८ लाख सात हजार तीन सय छ रुपैयाँ आम्दानी गरेको संघको बासलातमा उल्लेख छ । बासलातमा गत आर्थिक बर्षको सम्मेलन कक्ष, तालिम कक्ष, बिद्युत र सरसफाई बापत भएको आम्दानी लुकाईएको छ । साधारण सभा अघि बितरित गत बर्ष र अगिल्लो बर्षको वासलातमा सबै शिर्षकको हिसाव फरक फरक देखाईएको छ ।
संस्था भ्याटमा दर्ता नभएपनि मुल्य अभिबृद्धिकर खर्च १ लाख ७४ हजार ४ सय सतासी रुपैया देखाईएको छ । अतिथि गृहको गत बर्षको कोठा सेवा शुल्क मात्र २५ लाख ६४ हजार ६ सय छयाहत्तर रुपैयाँ,भान्साघर र ग्राउण्डको ८ लाख ५१ हजार पाँचसय, कुर्चि तथा टेवलको १ लाख पाँचसय पन्ध्र रुपैयाँ,शहिदचोक भवनबाट बहाल आम्दानी १२ लाख ९० हजार ६ सय पन्ध्र रुपैयाँ आम्दानी गरेको छ । जवकी अन्य करदातालाई १३ प्रतिशत मूल्य अभिबृद्धिकर र भाडाको दश प्रतिशत कर अनिवार्य हुन्छ । उद्योग बाणिज्य संघले भने कर छलि गरेको यसबाट प्रष्ट भएको छ ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले संस्थालाई अव भ्याटमा दर्ता गर्ने बताउनुभयो । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख टिकाराम भुषालले १० लाख भन्दा बढी आम्दानी गर्ने जो सुकैले संस्थालाई मूल्य अभिबृद्धिकरमा दर्ता गर्नुपर्ने बताए। संघका सदस्यहरुले जोशीलाई संस्थालाई भ्याटमा दर्ता गर्नुपर्ने,कर तिर्नुपर्ने लगायतका माग यस अघिनै गर्दै आएको भएपनि उहाँले बेवास्ता गर्दै आएको बुझिएको छ ।
संघमा पारदर्शिताका कुरा गर्नेहरु नयाँ नेतृत्व र उमेद्वारीमा असक्षम हुने परम्पराका कारण पनि संघको मनोमानीका बिषयमा संघका सदस्यहरु नवोल्ने गरेको बताईएको छ । उद्योग बाणिज्य संघका केहि पदाधिकारी बाहेक अन्यलाई संघको आम्दानी र खर्चका बिषयमा जानकारी नदिईने हुँदा राजश्व चुहावट मात्र नभएर अन्य आम्दानीहरु समेत पारदर्शी नहुने गरेको स्रोतको भनाई छ । त्यसै कारणले पनि संघ भित्रको एक घेराले बाहिरबाट पदाधिकारीमा कसैलाई ल्याउन नचाहने गरेको स्रोतको भनाई छ ।

Leave a Reply

Your email address will not be published.