मधेस केन्द्रीत दलहरु सहमति नजिक : सिंचाई मन्त्री यादव


शान्ता अधिकारी

चितवन,पुस २२ गते । सिंचाई मन्त्री उमेश यादवले समृद्ध नेपाल बनाउन कृषि पेशालाईनै प्रथमिकता दिनु पर्ने बताउनु भएको छ । विभागिय भेटघाटको लागि बुधबार चितवन आईपुग्नु भएका मन्त्री यादवले कृषिलाई अगाडी बढाउन सिंचाईको उत्तीकै आवश्यकता भएकाले सिंचाईलाई व्यवस्थित बनाउन आफू लागि परेको बताउनुभयो । उहाँले सिंचाई अवस्था बारे जानकारी लिने सरकारले गरेको निर्णय र चितवनको कृषि क्षेत्रमा सिँचाईको अवस्था बारे बुझ्न आफु चितवन आएको पनि खुलासा गर्नुभयो ।
सिंचाई व्यवस्थित बनाउन र अधिकतम उपभोगमा ल्याउनका लागि भईरहेका सिंचाईमा गर्नु पर्ने सुधार र थप्न पर्ने आयोजनाको लागि वर्तमान सरकार अत्यन्त गम्भिर रहेको भनाई राख्दै यसको लागि सरकारले एउटा अध्ययन टोली बनाएको र त्यो अध्ययन टोलीको सुझाव र सल्लाहलाई आफूले पर्खेको भनाई मन्त्री यादवको थियो । समृद्ध तराई मधेश सिंचाई कार्यक्रमलाई तराईमा प्राथमिकता दिईने र पहाडको हकमा लिफ्ट सिंचाईलाई प्राथमिकतमा राखिएको मन्त्री यादवको भनाई थियो । अहिले हाम्रो दायित्व भनेको कृषि व्यवसायलाई प्राथमिकीकरण गर्नु हो मन्त्री यादवले कृषि, सिंचाई पशुपालन व्यवसाय भनेको एक अर्काको परिपुरक भएकाले यी व्यवसायलाई सामुहिक व्यवसायको रुपमा अगाडि बढाउन सरकार लागि परेको र यी क्षेत्रमा लाग्ने कृषकलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले योजना ल्याउदै आएको बताउनु भएको थियो ।
अहिलेको सरकार भनेको संविधान कार्यान्वयन गराउने र जनताले अपनत्व महसुुस गर्न पाउन भन्ने उद्देश्यले बनेको दावी गर्दै मन्त्री यादवले भन्नु भयो अघोषित नाकावन्दी अव केही दिनमा सहज हुने दाबी गर्नुभयो । उहाँले मधेस केन्द्रीत दलहरुसंगको वार्ता सहमति नजिक पुगेको र त्यसले सकरात्मक सन्देश दिन थालेको दाबी गर्दै मन्त्री यादवले परिणाम आउन भने केही दिन पर्खन अनुरोध गर्नुभयो ।
मन्त्री यादवले बुधबार विहान मध्यामाञ्चल सिंचाई डिभिजन अन्तरगतको सिंचाई प्रणाली र भूमिगत जल सिंचाई आयोजनाले गरेको कामहरुको बारेमा स्थलगत अनुगमन गर्नु भएको थियो भने मध्यामाञ्चल सिंचाई डिभिजनका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारीहरुसंंग छलफल गरि कर्मचारीलाई आवस्यक निर्देशन दिनु भएको थियो ।
मन्त्री यादवले बुधबार नै एकीकृत नेकपा माओवादी पार्टी कार्यालयमा पार्टी कार्याकर्ताहरुलाई भेटेर गुनासा सुन्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.