सौराहा आउने पर्यटक ७५ प्रतिशतले घटे

आनन्द पोखरेल
चितवन,२२ पुस । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवन जिल्लामा यति बेला पर्यटकको आगमनमा कमी आएको छ । वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण चितवन घुम्न आउने पर्यटक घटेका हुन् ।
अघिल्लो वर्षहरुमा पुस माघमा पर्यटक थोरै आउने भएपनि चितवनमा यस समयमा पर्यटकको कमी हुने थिएन । गत वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन आउने र चितवनमा हरेक वर्ष आयोजना हुने हात्ती महोत्सव अवलोकन गर्न आउने पर्यटकको संख्या उल्लेख्य रुपमा हुने गर्दथ्यो । नेपालमा वैशाखमा आएको विनाशकारी भूकम्पले नेपाल ध्वस्त भएको भनेर विश्वमा गलत प्रचार गरिएका कारण पनि चितवन लगायत देशभरी नै पर्यटकको आगमन घटेको विश्लेषण गरिएको छ ।
चितवनमा रहेको नेपालकै जेठो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वर्षेनि हजारौँ हुने गरेको थियो । भूकम्प पछि चितवनमा मुस्किलले दैनिक करिब ५० जना जतिको हाराहारीमा विदेशी पर्यटक घुम्न आउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । सामान्य अवस्थामा चितवनको सौराहामा पर्यटकहरु उल्लेख्य मात्रामा देखिने गरेकामा अहिले सौराहा प्रायः सुनसान देखिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा भएका कारण पनि चितवन घुम्न आउने पर्यटकहरु सौराहामा जाने गर्दछन् । विश्वमा नै दुर्लभ मानिएको एक सिंगे गैंडा हेर्नका लागि विश्वबाट चितवनमा पर्यटकहरु आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज जीप सफारी र हात्ती सफारीका लागि समेत प्रख्यात रहेको छ ।
भूकम्पले प्रभावित बनाएको नेपालको पर्यटन क्षेत्रलाई भारतको अघोषित नाकाबन्दीले थप धराशायी बनाएको सौराहामा टाइगर केल एडभेन्चर टुर सञ्चालन गर्दै आएका धर्मदत्त पौडेलको भनाइ छ । अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष चितवन घुम्न आउने पर्यटकको संख्यामा ७५ प्रतिशत भन्दा बढी कमी आएको पौडेलले बताए ।
लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउने काम गर्दै आएका निकुञ्जका नेचर गाइड सन्तकुमार तामाङले भूकम्पपछि चितवनमा पर्यटकको संख्यामा धेरै नै गिरावट आएको बताउँछन् । सौराहामा पर्यटकको आगमन न्यून हुँदा नेचर गाइड तथा होटल व्यवसायलाई समेत हातमुख जोर्न गाह्रो हुने अवस्था आएको तामाङले बताए । भूकम्पपछि चितवन घुम्न आउने आन्तरिक र विदेशी पर्यटकहरुको संख्यामा धेरै नै कमी आएको तामाङको अनुभव छ ।
भूकम्पका कारण नेपालको पर्यटकीय क्षेत्रहरु ध्वस्त भएको भनेर हल्ला फैलाइएकोमा आफूले नेपालको सबै पर्यटकीय क्षेत्र सुरक्षित र सुन्दर पाएको अष्ट्रेलियन नागरिक नेरोली पेजले बताइन् । ‘मैले चितवन राष्ट्रिय निकुञ्जमा धेरै चराहरु, हात्ती र गोही हेरेँ यात्रा निकै रमाइलो भयो’ पेजले भनिन्, –‘म मेरो देशमा पुगेर नेपाल सुरक्षित छ भनेर सबैलाई सन्देश पु¥याउँछु ।’
नेपालमा आएको भूकम्प र तराई आन्दोलनका कारण नेपालको नेपालको पर्यटन क्षेत्र धराशायी भएको चितवन पर्यटन परिषद्का अध्यक्ष दिलिप मैनालीले बताए । भूकम्पपछिको अवस्थामा चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष प्याकेजको व्यवस्था गरिनुपर्ने मैनालीको भनाइ छ । सरकारले पर्यटन व्यवसायीलाई ग्यास, दाउरा लगायतका ईन्धनहरु उपलब्ध गराउन सकेको अवस्थामा पर्यटन व्यवसाय फस्टाउने मैनालीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published.