खुला नक आउट भलिबलमा आयोजक बिजयी

आनन्द पोखरेल
चितवन, १९ पुस । नेपाल अर्बुद रोग निवारण संस्था चितवनले आयोजना गरेको खुला नक आउट पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

नवलपरासीका तीन सहित २७ वटा भलिबल समूह सहभागी भएको प्रतियोगितामा आयोजकले गैंडाकोट खेलकुद विकास परिषद्लाई हराएको हो । बेष्ट अफ फाइभमा खेलाइएको प्रतियोगिताको फाइनल खेलमा आयोजक नेपाल अर्बुद रोग निवारण संस्था बी लगातार तीन सेटमा जित हासिल गर्दै बिजयी भएको हो । आयोजक बी समूहले २५/१८, २५/२१ र २५/२० को सोझो सेटमा गैंडाकोट खेलकुद परिषद्लाई हराएको हो ।

प्रतियोगितामा पहिलो भएको समूहलाई २० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, खेलमा दोस्रो भएको गैंडाकोट खेलकुद विकास परिषद्ले १२ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो भएको दी फेमश महेन्द्र दल गण भरतपुरलाई पाँच हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो समूहको लागि आइतबार दी फेमश महेन्द्र दल गण भरतपुर र चनौली युवा समूहबीच प्रतिष्पर्धा हुने भनिएकोमा चनौली युवा समूह खेलमा अनुपस्थित भएपछि दी फेमश महेन्द्र दल गण तेस्रो भएको हो ।

त्यसैगरी, नेपाल अर्बुद रोग निवारण संस्था बीका खेलाडी विपीन कुँवर क्षेत्री उत्कृष्ट खेलाडी घोषीत भएका छन् । क्षेत्रीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले पुरस्कार वितरण समारोहमा खेलकुदले युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गर्न मद्दत गर्ने बताएका छन् । खेलकुद क्षेत्रको विकासको लागि चितवन महत्वपूर्ण जिल्लाको रुपमा परिचित हुँदै गएका कारण खेलकुदको विकासको लागि चितवन जिल्लामा रहेका सबै क्षेत्रको योगदान महत्वपूर्ण हुनुपर्ने लामाको भनाइ छ ।
पुरस्कार वितरण समारोह नेपाल अर्बुद रोग निवारण संस्था चितवनका खेलकुद उपसमिति रामबाबु भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो । पुस १५ गतेदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको खेल मैदानमा भएको खेलको सहयोगी संस्थाको रुपमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका थिए । सूर्तीजन्य पदार्थको सेवन नगरौँ, क्यान्सर रोगबाट बचौं भन्ने नाराका साथ भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.