ढाकाटोपीमा सजिदै चितवनमा पनि तेस्रो नेपाली टोपी दिवस मनाइयो

चितवन, पुस १७ । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अंग्र्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ ।
जनवरी १ अर्थात नेपाली टोपी दिवस, चितवनमा विभिन्न कार्यक्रम गरि मनाइएको हो । शुक्रबार परेको तेस्रो नेपाली पोशाक दिवस तथा टोपी दिवसको अवसर पारेर यहाँका विभिन्न संघसंस्थाले सचेतनामूलक ¥याली निकालेका छन् । नेपालीलाई विश्वमाझ चिनाउनको लागि महत्वपूर्ण भूमिका खेलेको नेपाली ढाका टोपी लगाएर चितवनका युवाहरुले शुक्रबार ¥याली निकालेका हुन् ।
राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत तीन वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । कुनै औपचारिक तडकभडकका रुपमा नभई सामान्य तुल राखेर, ¥याली निकालेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको हो ।
कार्यक्रममा उपस्थित सर्वसाधारणले नेपाली टोपी लगाएर तस्बिर खिचाएका थिए । पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ब्रदर्श नेपालका प्रशन्न ढकालले बताएका छन् । नारायणगढको पुलचोकबाट निकालिएको ढाका टोपी सहितको ¥याली सहिदचोक, लायन्सचोक, क्याम्पस गेट हुँदै चौबिसकोठीमा पुगेर समापन भएको थियो । सगरमाथा झैं उच्च हाम्रो स्वाभिमान, नेपाली टोपी हाम्रो पहिचान भन्ने नाराका साथ सुरु भएको ¥यालीमा चितवनका विभिन्न संघसंस्था, तथा स्काउटका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले नेपालीलाई विश्वसामु चिनाएको नेपाली ढाका टोपीको सबै नेपालीले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाली टोपी दिवसको कार्यक्रम ब्रदर्श नेपाल चितवनको आयोजनामा भएको थियो ।
यसैगरि तेश्रो ढाकोटोपी दिवसको अबसरमा शुक्रवार रत्ननगरमा विभिन्न लायन्स क्लवहरुले जनचेतना मुलक प्रभातफेरी निकालेका छन । विदेशी संस्कृतिको प्रभावले नेपालीको संस्कृतिसंग जोडिएको ढाकाटोपी लोप हुन थालेपछि यसको संरक्षणको लागि जनचेतना अभिवृद्धि गर्न प्रभातफेरी निकालिएको हो । लायन्स क्लब अफ चितवन राईनो सिटीको अगुवाईमा निकालिएको प्रभातफेरीमा सहभागीहरुले ढाकाटोपी लगाएका थिए ।
रत्ननगर २ टाँडीमा रहेको नेपाल उच्च माविको प्रागंणबाट सुरु भएको प्रभातफेरी रत्ननगर नगरपालिकाको गेट अगाडि आएर समापन भएको थियो । सो कार्यक्रमा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, रत्ननगर जेसिस,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी,गैर सरकारी प्रतिनिधि एवम् स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.