नाकाबन्दीसंगै चितवनमा विद्युतको खपत बढ्यो / तीन महिनामा झण्डै ४७ लाख युनिट चुहावट

चितवन, १८ पुस । बजारमा पेट्रोलियम पदार्थ लगायत एलपी ग्याँसको हाहाकार भएपछि चितवनमा विद्युत्को खपत बढेको छ । भारतको नाका बन्दीका कारण अधिकांस उपभोक्ताले खाना पकाउन देखि यातायात क्षेत्रमा समेत विद्युतिय सवारी साधनको प्रयोग गर्न थालेपछि अघिल्लो वर्षको तुलनामा करिव १० प्रतिशतले विद्युतको खपत बढेको हो । विद्युत प्राधिकरण भरतपुर शाखाका अनुसार अघिल्लो वर्षको ४ महिनाको तुलनामा भन्दा यस चालु आर्थिक वर्षमा ४४ लाख १४ हजार ३ सय ६१ युनिट विद्युत खपतमा बृद्धि आएको छ ।
गत आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकसम्मको चार महिनामा ४ करोड ५ लाख ९ हजार ८ सय युनिट विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ४९ लाख २४ हजार १ सय ७८ युनिट विद्युत खपत भएको विद्युत प्राधिकरण भरतपुर शाखा कार्यालयले जानाकारी दिएको छ ।
पछिल्लो समयमा आएर बजारमा विद्युतिय सामाग्रीहरुको माग अत्याधिक छ । अहिले ग्याँसको अभाव भएपछि आम सर्वसाधारणले विद्युतिय सामानहरुबाट नै खाना पकाईरहेका छन् । भरतपुर १० का भरत मरासैनी अहिले सकेसम्म ग्याँस प्रयोग नगरी विद्युतबाट खाना पकाउने बताए । ग्याँसको अभाव भएपछि मरासैनीले इन्डक्सन चुल्होदेखि लिएर विद्युतबाट चल्ने कित्लीसम्म किनेका छन् । विद्युतको टाईम कुरेर खाना पकाउने गरेको छु–उनले भने पहिला मसंग राईसकुकर मात्र थियो, अहिले इन्डक्सन चुल्हो, हिटर, पानी तताउने कित्ली पनि किनेको छु ।
पहिले खाना पकाउनको विद्युत प्रयोग नगर्ने सर्वसाधारणहरु अहिले भने विद्युतबाट नै खाना पकाईरहेका छन् । त्यसै मध्येका एक हुन कृष्णपुरका हरी ढुंगाना । पहिले विद्युतबाट खान नै पकाउँदैन्थें, तर अहिले भने विद्युत प्रयोग नगरी भान्सा नै चल्दैन उनले भने । यो समयमा विद्युतको शुल्क पनि कम उठ्थ्यो तर अहिले विद्युत शुल्क पनि बढि उठेको छ ।
ग्याँसको अभावले डेरा गरेर बस्दै आएका विद्यार्थीले बढी समस्या खेप्नु परेको छ । ग्याँस डिलर कहाँ पुग्दा ग्याँस छैन भनेर फर्काउने र दाउरामा पकाउँदा घरबेटीको कचकच सुन्नु पर्ने हुँदा पनि विद्यार्थीहरुले विद्युतिय भान्सा सामाग्री नै प्रयोग गर्न बाध्य छन् ।
मधेस बन्दका कारण उद्योग सञ्चालन हुन नसक्दा अहिले लोडसेडिङ् पनि कम भईरहेको छ । जसले गर्दा पेट्रोलियम पदार्थ लगायत ग्याँसको अभाव हुँदा केही राहत उपभोक्ताहरुलाई भएको पाइन्छ । यो असोज महिना मात्रै घरयासी प्रयोजनमा १५ करोड ५७ हजार रुपैयाँको विद्युत खपत भएको विद्युत प्राधिकरण भरतपुर शाखाका लेखा अधिकृत भगवान ढकालले जानाकारी दिए ।
अहिले जाडो बढ्दै जाँदा गर्मी समयमा प्रयोग हुने फ्रिज, पंखा, एसी लगायतका चिसो बनाउने विद्युतिय सामाग्रीहरुको प्रयोग नभए पनि जिल्लामा अहिले विद्युतिय यातायात साधनको प्रयोग बढि रहेको छ । अहिले जिल्लामा अटो रिक्सा, इलेक्ट्रोनिक मोटरसाईकल, इलेक्ट्रोनिक साईकल बढि प्रयोगमा आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लामा २ सय ५० भन्दा बढि अटो रिक्सा र १ हजारको हाराहारीमा इलेक्ट्रिक मोटरसाईकल जिल्लामा गुडिरहेका छन् ।
असोज महिनामा घर वत्ती ग्रस्त, व्यापारिक, गैरव्यापारिक, उद्योग, सडक बत्ती, सिंचाई वत्ती, खानेपानी, यातायात, मन्दिर, अस्थायी क्षेत्र (मेला महोत्सव), सामुदायीक लगायतका क्षेत्रमा गरि ३० करोड १५ लाख २४ हजार १ सय २५ रुपैयाँको विद्युत खपत भएको विद्युत प्राधिकरण भरतपुर शाखा कार्यालयका निमिक्त प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानाकारी दिए ।
उनका अनुसार घरयासी प्रयोजनमा १५ करोड ५७ हजार, उद्योग तर्फ ६ करोड २४ लाख ८ हजार ८ सय ५, व्यापारिक तर्फ २ करोड ९७ लाख ८ हजार ४ सय २८, गैर व्यापारिक तर्फ २ करोड २८ लाख १२ हजार ६ सय ३९, सिंचाई तर्फ १ करोड ६५ लाख ४८ हजार ९ सय ५८ रुपैयाँको विद्युत खपत भएको भएको छ । विद्युत प्राधिकरण भरतपुर शाखाले पश्चिम चितवन र नारायणगढ देखि मुग्लिनसम्मको क्षेत्र हेर्ने गर्दछ ।
कार्यालयले अन्य अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवस्टेशनबाट विद्युत् खरिद पनि बढि गरेर विद्युत बेचिरहेको छ । गत आर्थिक वर्ष ३ करोड ६८ लाख युनिट विद्युत खरिद गरेकोमा चालु आर्थिक वर्ष ४ करोड ६५ लाख ५७ हजार युनिट विद्युत प्रत्येक महिना खरिद गरेर विक्रि गरेको कार्यालयले जानाकारी दिएको छ । तर कार्यालयले खरिद गरे जति विद्युत भने विक्रि हुन सकेको छैनन् । अहिले ३ करोड ५९ लाख ६४ युनिट मात्र विद्युत खपत भएको निमिक्त प्रमुख पौडेलले जानाकारी दिए ।
विद्युत चुहावट
विद्युत प्राधिकरण भरतपुर शाखाबाट वितरण हुने विद्युतमा चुहावटको समस्या पनि उत्तिकै छ । कार्यालयको तथ्याङ्क अनुसार १२ प्रतिशत विद्युत चुहावट भएको छ । चालु आर्थिक वर्षमा कार्यालयका इन्जिनियर ईश्वरकुमार श्रेष्ठले चालु आर्थिक वर्षको असोजसम्म ४६ लाख ९२ हजार युनिट विद्युत चुहावट भएको जानाकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा सोहि अवधिमा १४ प्रतिशतले विद्युत चुहावट हुँदै आएको थियो । गत आर्थिक वर्षको चार महिनामा ५१ लख ३२ हजार युनिट चुहावट भएको थियो । तर, यो विद्युत चुहावट भने सामान्य रहेको इन्जिनियर श्रेष्ठले बताए । ट्रासफर्मरमा ३, सिष्टम प्रकृयामा ५ प्रतिशत विद्युत चुहावट हुन्छ । श्रेष्ठले भने केही प्रतिशत मात्र चोरी भएको छ ।

Leave a Reply

Your email address will not be published.