मानिस अपहरण तथा बन्धक पार्ने चार पक्राउ

चितवन, १४ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले मानिस अपहरण तथा बन्धक पारेको आरोपमा ४ जनालाई गिरफ्तार गरेको छ । पुस ९ गते ट्रकसहित चालक र सहचालक तथा एक यात्रु अपहरण गरेको अभियोगमा खैरहनी नगरपालिका–४ बस्ने वर्ष २६ को विमल थापामगरलाई गिरफ्तार गरिएको चितवन प्रहरीले जनाएको छ ।
ना। ५ ख ७५८६ नम्बरको ट्रकमा कपिलवस्तु चन्द्रौटाबाट गोरु लिएर सर्लाही जाने क्रममा गाडीमा रहेका २ वटा गोरू मरेकाले राप्ती नगरपालिका–७ पम्फाखोलामा ट्रक रोकी मरेको गोरु झार्ने क्रममा विमल थापामगरसमेत तीन जनाले ट्रकका चालक र सहचालकसँग रकम माग गरेका र नदिएपछि उनीहरुलाई ट्रकसहित ६ किमिको दूरीमा रहेको चौकी डाँडा जंगलमा लगेको प्रहरीले जनाएको छ । उनीहरुसँग भएको नगद लुटेर बन्धक बनाई राखेको अवस्थामा इप्रका भण्डाराले थापामागरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अपहरण घटनामा संलग्न २ जना फरार रहेको प्रहरीको भनाइ छ । त्यस्तै, पुस १० गते भरतपुर–१० बाट धनञ्जय पौडेललाई अपहरण गरेको आरोपमा ३ जनालाई गिरफ्तार गरेको छ । भरतपुर–२० का ४० वर्षीय पौडेललाई अपहरण गरेको आरोपमा भरतपुर–४ का ४२ वर्षीया रमा पौडेल, भनपा १० बस्ने वर्ष ३५ का धु्रव खड्का र भरतपुर ८ बस्ने वर्ष ३६ का कृष्ण लामा पक्राउ परेका प्रहरीको भनाइ छ ।
प्रहरीले आइतबार मुद्दा दर्ता गराएको थियो । घटनाको सोमबार चितवन प्रहरीले सार्वजनिक गरेको हो । धनन्जय पौडेललाई भरतपुर–१० स्थित एक घरबाट बन्धक बनाइ राखेको अवस्थामा उद्धार गरिएको चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले बताए ।
दुई फरक घटनामा संलग्न ४ आरोपितलाई अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाइएको डिएसपी अधिकारीले जानकारी दिए । सडक सुरक्षामा नयाँ योजना जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लाको सडक सुरक्षाका लागि नयाँ योजना अघि सारेको छ । सडक सुरक्षा जाँच अवधारणाका लागि जनशक्ति र आवश्यक उपकरणहरुसमेत तयार पारिएको प्रहरीले जानकारी दिएको छ ।
सडक क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र सवारी दुर्घटना कम गर्नका लागि नयाँ योजना ल्याइएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए । सडक सुरक्षा जाँचबाट चोरीका गाडी नियन्त्रणमा लिन, हिट एण्ड रन केसका सवारी पक्राउ गर्न, फरार अपराधीहरु पक्राउ गर्न, अवैध समान बरामद, अपराध घटना गराई फरार हुनेहरु पक्राउ गर्न र आपराधिक घटनासँग सम्बन्धित सूचना लिनका लागि यस योजना सफल हुने प्रमुख कुँवरले दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published.