पत्रकार सिंखडालाई पितृशोक

चितवन, ११ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद तथा प्रेस चौतारी नेपाल चितवन शाखाका सल्लाहकार शिशिर सिंखडालाई पितृशोक परेको छ ।
पत्रकार सिंखडाका पिता रोहिणी प्रसाद सिंखडाको ७६ वर्षको उमेरमा आफ्नै निवासमा मृत्यु भएको हो । मष्तिष्कघात देखिएर उपचार गराउँदै आएका रोहिणीको उपचारका क्रममा शुक्रबार राति कालिका नगरपालिका वडा नम्बर ६ मा निधन भएको हो । मृतक रोहिणीका तीन छोरा र दुई छोरी रहेका छन् भने पत्रकार सिंखडा रोहिणीका कान्छा छोरा हुन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यस शोकको घडीमा शोक सन्तप्त परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि कामना समेत गरिएको छ ।
त्यसैगरी, प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकाल र पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले छुट्टाछुट्टै शोक विज्ञप्ती जारी गर्दै समवेदना प्रकट गरेका छन् ।
त्यस्तै, सौराहा अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक राजेन्द्र आचार्यले शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको लागि कामना गरेका छन् । पत्रकार सिंखडा रेडियो नेपाल चितवनका सम्वादाता र पारदर्शी दैनिकका पूर्वी चितवन शाखा प्रमुख समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.