inner-page-post-top

inner-page-post-top

 

चितवनमा दादले गाउँ नै प्रभावित

रत्ननगर,२६ असोज ।पूर्वी चितवनको राप्ती नगरपालिका–१०, समिटारका कान्छा चेपाङ करिब तीन वर्षदेखि दाद रोगबाट पीडित छन् । स्वास्थ्यचौकीको औषधिले निको नभएपछि उनले जडीबुटी लगाइरहेका छन् ।
औषधि लगाउञ्जेल निको हुने तर छाडेपछि पुन दादले दुःख दिने गरेको चेपाङले बताए । उनको ज्यानै भरि दाद छ । “स्वास्थ्यचौकीले दिएको औषधि प्रयोग गरुञ्जेललाई हुन्छ”, कान्छा चेपाङले भने, “औषधिले नछोएपछि जडिबुटी प्रयोग गरिरहेको छु ।” तर, जडिबुटीले पनि उनको दाद निको भएको छैन । उनका छोराछोरीलाई पनि दादको समस्या छ ।
कान्छा चेपाङलाई मात्रै होइन, अहिले उनको गाउँ समिटार र नजिकैको दर्लामीटारका सबै गाउँलेमा दादको समस्या छ । यहाँका प्रत्येक घरमा एक न एक जनालाई दादको समस्या छ । कुनै घरमा त परिवारका सबै सदस्य दाद रोगबाट पीडित छन् । गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्ममा दादको समस्या देखिएको कान्छाले बताए । स्थानीय कुमार सुनार पनि विगत दुई वर्षदेखि दादबाट पीडित छन् । उनले पनि औषधि प्रयोग गरुन्जेल निको हुने र छोडेपछि पुनः दाद देखिने गरेको बताए । औषधि खाएको बेला र त्यसपछि मुख नबार्दा यस्तो समस्या देखिएको उनीहरुको बुझाइ छ ।

भैंसीको मासु खाँदा दादको समस्या देखिने गरेको कुमार सुनारले बताए । गाउँलेहरुमा कसैको हात, कसैको ढाड, खुट्टा, मुख र संवेदनशील अंगमा समेत दाद देखापरेको छ । पुरुषको तुलनामा महिलामा यो समस्या केही कम छ । स्थानीय मधुमाया सुनारले आफ्नो ढाड र पुठामा लामो समयदेखि दादको समस्या रहेको सुनाइन् । “औषधि खाइन्जेल ठीक हुन्छ, खान छोडेपछि पुन दादले दुख दिन्छ” मधुमायाले भनिन्, “कतिञ्जेल हामी यसरी पीडित भएर बस्ने हो थाहा छैन ।”
समिटार र दर्लामीटारमा केही बालबालिकामा दादको संक्रमण शरीरका धेरै भागमा फैलिएको छ । समिटारका ८ वर्षीय रितेश चेपाङ र दर्लामीटारका ११ वर्षीय राजीव सुनारमा दादको समस्या ज्यादा छ । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले दीर्घकालीन समाधान खोज्न सकेका छैनन् ।
केही गाउँलेले नजिकै रहेको सामुदायिक स्वास्थ्य इकाई खहरेमा दादको औषधि पाएको बताएपनि धेरैले औषधि लिन जाँदा नपाएको गुनासो गरेका छन् । सामुदायिक स्वास्थ्य इकाइमा औषधि नपाएपछि गाउँमै रहेको मेडिकलबाट औषधि गर्ने गरेको राजीवका आमा मनुले बताइन् ।
केही गाउँलेमा दादको समस्या रहेको जानकारी भएपनि पूरै गाउँ नै प्रभावित भएको भन्नेबारे स्थानीय सामुदायिक स्वास्थ्य इकाइका ईञ्चार्ज नीलम गौतम बेखबर जस्तै छिन् । “केही गाउँलेहरु दादको समस्या लिएर आएका छन्, उनीहरुलाई औषधि पनि दिइयो”, इकाइ ईञ्चार्ज गौतमले भनिन्, “पूरै गाउँले प्रभावित भएको भन्ने थाहा छैन ।”
सो स्वास्थ्य केन्द्रमा खाने औषधि भएपनि मल्हम भने नभएको ईञ्चार्ज गौतमले बताइन् । सो गाउँमा देखिएको दाद फंगल अर्थात ढुसी दाद भएको भरतपुर अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले बताए । पूरै गाउँ नै प्रभावित भएको भए सबैले एकैपटक नियमित औषधिको प्रयोग गर्नुपर्ने अधिकारीको सुझाव छ । “सीमित बिरामीले औषधि खाँदा उनीहरुमा ठीक हुने तर त्यही समस्या भएका मानिसहरुको प्रत्यक्ष सम्पर्कमा आउँद ती बिरामीबाट पुनः सर्न सक्छ”, अधिकारी भन्छन् ।
आजको कायाकैरमा  खबर छ

Single News Button

innerpage-below-post

 

Nepali Calendar